आहा! यो संसार कति रमाइलो थियो होला? मलाई सृष्टि गर्नुहुने मेरो सृष्टिकर्ताले यो संसारलाई यस्तो सुन्दर बनाउनु भएकोमा म कति धन्यवादी हुन्थें होला। जब म मेरो आमाको गर्भमा हुर्कंदै थिएँ मेरो सृष्टिकर्ता परमेश्वरले मलाई एक कोषबाट अनगिन्ती कोषहरूमा बृद्धि र विकास गराउनुभयो म सम्झन्थें मेरो आमाले मलाई उनको ममता र स्नेहले मलाई काखमा खेलाउनेछिन् अनि मेरो बाबाले मलाई उनको बाहुलीमा सधैं राख्नेछन्। तर म कति अभागी बालक रहेछु। मेरो आमा र बुबा मेरो वृद्धि र विकासमा सन्तुष्ट हुन सकेनन्। म भित्र पनि प्राण र आत्मा छ भन्ने कुरा विर्सिए।
उनीहरूलाई मलाई परमेश्वरले मानवको रुपमा सृष्टि गर्दै हुनुहन्छ र म एउटा जीवित प्राणी हो भन्ने कुराको ख्याल राखेनन्। उनीहरूले मेरा कोसहरू मार्न र तिनीहरूलाई चोक्टा चोक्टा गरी निकाल्न मलाई कडा बिषयुक्त गर्भ निरोधक चक्की खुवाइयो। यसले गर्दा म कति उकुस मुकुस भएँ, उहाँहरूको लागि थिएँ म एउटा कोष। मेरो स्वास प्रस्वासमा अवरोध आउन थाल्यो, मेरा कलिला माँशपेशीहरू जल्न थाले। म सोंच्न थालें सायद मेरो अन्त अहिले नै हुन्छ होला। मेरा आमा र बुबाहरू रमाउन थाले।
अहो! म कति खुशी थिएँ जब मेरो सृष्टिकर्ता परमेश्वरले मलाई गर्भमा सृष्टि गर्दै हुनुहुन्थ्यो। म संसार हेर्नेछु, यो संसारमा म मेरो परिवारमा रमाउनेछु। अनि मलाई सृष्टि गर्नुहुने परमेश्वर, मेरो लागि आफ्नो पुत्रलाई वलिदान दिनु हुने परमेश्वरलाई धन्यवाद चढाउनेछु। ओहो! परमेश्वर म कति भाग्यमानी थिएँ, म गर्भमा हुँदा नै मेरो लागि, मेरो पापको लागि आफ्नो पुत्र दिनुभयो मेरो पाप पखाल्नको लागि। म फेरि कति अभागी रहेछु मैले मेरो पाप के हो भन्ने थाहा नपाउँदै मलाई मार्ने प्रयास भइरहेको छ। यसको न्याय पक्कै परमेश्वर हजुरले गर्नुहुन्छ नै।
ओहो! म कति अभागी रहेछु मलाई दिइएको जुन मन्द बिष थियो। त्यो बिषले मेरो श्वास प्रश्वास अवरोध पारेतापनि त्यसले मलाई मार्न सकेन। म केही दिन पछि फेरि विकसित हुन थालें, मेरो आमाबुबालाई के थाहा श्वास प्रश्वास रोकिंदै बाँच्दा मलाई कति पीडा भयो भनेर। उहाँहरूको लागि त म प्राणी नै थिइन एउटा कोष मात्र थिए, मभित्र पनि २००० वर्ष अगाडी परमेश्वरले मेरो पापको लागि क्रूसमा आफ्नो प्राण त्याग्नुभएको थियो र मेरो सृष्टिमा साँच्चै स्वर्गमा रमाहट भइरहेको छ भनेर।
म केहिदिन पछि फेरि विकसित हुन थालें। अब मेरो सानो मुटु पनि बन्न थाल्यो तर मेरो आमाले मेरो मुटुको ढुकढुकी सुन्न सकेनन्। मेरो आकृतिले मानव रुप लिन थाल्यो, तर मेरो बुबाले मलाई प्राणी नै सम्झिनुभएन। म रमाउन थालें। सायद म अब बाँच्नेछु। म कति अभागी बालक रहेछु। मेरो वृद्धि र विकासमा मेरो आमा छट्पटाउन थालिन् अनि मेरो बुबाले मलाई नष्ट गर्न अरु उपायहरू सोंच्न थाले।
मेरो आमाको मनमा म प्रती अलि अलि भएपनी मातृस्नेह थियो तर उनको अगाडि म प्रतिको प्रेम भन्दा पनि आफ्नो प्रतिष्ठा, मान र समाजले उनलाई कसरी स्वीकार्ला भन्ने मात्र थियो। म प्रतिको प्रेम घट्दै थियो। मेरो आमाले मेरो बृद्धि र विकास रोक्नको लागि अनेक मन्द बिषहरू दिन थालिन् जब म आठ हप्तामा पुग्दै थिए। एकदिन अचानक, मेरो बुबाले मेरो आमाको लागि एउटा औषधी ल्याउनुभयो यो औषधि मेरो आमाले शुरुमा अस्वीकार गरिन्। बुबाले अनेक धाक-धम्की माया-प्रेम देखाएर मेरो आमाले त्यो औषधी सेवन गरिन्। ओहो! यो औषधीले म अर्धचेत भएछु। मेरो आमा पनि छट्पटाउन थालिछन् अनि मेरो बाबाले उनलाई वचाउनको लागि अस्पताल लानुभयो।
अस्पतालमा पुगे पछि मैले सोचें अब म पनि बाँच्नेछु। त्यहाँ मानिसलाई बचाउने काम हुन्छ तर म कति अभागी रहेछु। त्यहाँ पुगेपछि मानवीय जुक्तिहरू लगाई मलाई बिभिन्न मन्द बिष दिइयो। मेरो चेतना केही समय आउने र जाने हुन थाल्यो। मेरो शरीर चोक्टा चोक्टा, टुक्रा टुक्रा गरेर निकाल्न थालियो मेरो मुटु नै दुख्न थाल्यो। अब म यस पृथ्वीमा चेतना सुन्य भएँ। म संसार नै देख्न नपाई म आफ्नो सृष्टिकर्ता भएको ठाउँमा गएँ। मैले देखें मेरी आमा रोइरहेकी। मलाई थाहा भएन उनी किन रोइन् उनलाई पीडा भएर हो की आफ्नो नजन्मिएको बालकलाई सम्झिएर हो…
अन्जना नौबाग, काठमाडौं