प्रिय मित्र, तपाई जो हालैका वर्षहरुमा आङसाङ होङद्वारा संस्थापित तथा झाङ गिल्झाद्वारा प्रवर्द्धित ‘परमेश्वरको मण्डली’ भनिने समूहमा प्रवेश गर्नुभएको छ यहाँलाई मेरो प्यार र अभिवादन छ। तपाईमा परमेश्वरको वचनको सही अर्थ जान्ने र परमेश्वरको इच्छामा सुम्पने जुन जोश र जाँगर छ त्यसमा मेरो सहानुभूति छ। अब एउटा कुरामा होश पुर्याउनुहोस्। परमेश्वरको वचनमा यो चेतावनी दिइएको छ, “येशू ख्रीष्ट शरीरमा भई आउनुभएको हो भनी स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाटको होइन, अनि योचाहिँ ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा ‘त्यो आउँछ’ भन्ने तिमीहरूले सुनेका छौ, र अहिले पनि संसारमा छँदैछ” (१ यूहन्ना ४:३)। सर्वप्रथम यो बुझ्नोस् कि येशू ख्रीष्टको ईश्वरत्व जो सदालाई स्थायी र स्थिर छ त्यस तथ्यलाई यस पदले दर्शाएको छ। उहाँलाई ‘येशू ख्रीष्ट’ भनिएको छ। ‘येशू’ नामले उहाँको मानवता र ‘ख्रीष्ट’ नामले उहाँको ईश्वरत्वलाई बुझाउँदछ। येशू ख्रीष्ट ‘अल्फा र ओमेगा’ ‘शुरु र अन्त’ हुनुहुन्छ, जो सर्वशक्तिमान हुनुहुन्छ (प्रकाश १:८)। उहाँ परमेश्वर हुनुभएर पनि मानिसका पापहरुबाटको प्रायश्चितको निम्ति मानिसको समानतामा होचिनुभयो र मृत्युसम्म आज्ञाकारी बन्नुभयो। तथापि उहाँ पुन: उही महिमा र स्थानमा उचालिनुभयो। हरेक घुंडा येशूको नाममा टेकिनुपर्छ, हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ
(फिलिप्पी २:६-११)। तसर्थ १ यूहन्ना ४:३ को सत्यता यो हो कि येशू ख्रीष्ट जो शरीरमा आउनुभयो र उहाँ परमेश्वर र प्रभु हुनुहुन्छ भन्ने तथ्यलाई जसले अस्वीकार गर्दछ ऊ ख्रीष्ट विरोधीको आत्माबाटको हो।
प्रिय मित्र, तपाईं आज येशू ख्रीष्टलाई अस्वीकार गर्नुहुन्छ। येशू ख्रीष्ट होइन तर आङसाङ होङ आजको युगको निम्ति ख्रीष्ट हुनुहुन्छ भनि वकालत गर्नुहुन्छ। येशू ख्रीष्टको सट्टामा आङसाङ होङलाई पछ्याउनुहुन्छ। तपाई धोकामा पर्नुभएकोछ। ख्रीष्ट विरोधीको आत्माको शिकार बन्नुभएको छ। त्यसबाट निस्कनुहोस् र येशू ख्रीष्टमा विश्वास गरी साँचो उद्धार पाउनुहोस्।
बुझ्नुहोस्, आनसाङ होङ सामान्य मानिस हुन्, ख्रीष्ट होइनन्। सन् १९४७ मा उनले ‘होलिनेस् चर्च’ प्रवेश गरेका थिए। उनले ख्रीष्टको कुनै पनि समयमा हुन सक्ने आगमनमा विश्वास गर्दथे। उनले उक्त चर्चलाई छोडी उनले सन् १९६४ मा ‘आन साङ होङ विटनेस सोसाइटी’को स्थापना गरे। त्यसपछि उनले दावी गरे कि अन्तिम दिनमा ख्रीष्टको आगमनको तयारीका निम्ति उनी पवित्र आत्माको अवतारको रुपमा पृथ्वीमा जन्मेको हो। सन् १९८५ मा उनको मृत्यु भएपछि झाङ गिल्झा तथा अनुयायीहरुले सोसाइटीलाई ‘वर्ल्ड मिशन सोसाइटी चर्च अफ गड’ को रुपमा संस्थापन गरे। यस समूहले थप यो भ्रम फैलाए कि आङसाङ होङ नै दोश्रो पटक आउने भनिएको ख्रीष्ट हुन्। यसरी आङसाङ होङले गरेको गल्तीको कैयौं गुना गल्ती उनका अनुयायीहरुले थपे। झूट पछि झूट थपिदै गयो। झूटा शिक्षा संजालमा प्राय: यस्तो हुने गर्दछ। यस समूहको अर्को थप उत्तेजक र झूटा शिक्षा यो हो कि परमेश्वरका स्वर्गीय पत्नी छन् उनी कोरियाली महिला झाङ गिल्झा हुन्। यो त हदै भयो। के परमेश्वर हुँदै नभएका कुराबाट सृष्टि गर्न असक्षम हुनुहुन्छ? हेर्नुहोस् हिब्रू ११:३। उहाँले पनि मानिसले झैं जन्माउनु पर्छ र? जन्माउनको निम्ति पत्नी आवश्यक पर्ने? भ्रममा नपर्नोस्। बाइबललाई स्वस्फुर्त रुपमा अध्ययन गर्दै अघि बढ्नोस्। परमेश्वरको वचनलाई बोल्न दिनोस्। यस समूहका अग्रजहरुद्वारा निर्धारित शिक्षालाई पुष्टि गर्ने बाइबल पदहरु कण्ठ गर्ने र व्याख्या गर्ने तालिमहरु लिई दिमाग धुलाई (ब्रेन वास) हुनबाट आफूलाई बचाउनोस्। परमेश्वरले तपाईलाई आशिष दिनुहुनेछ। म तपाईलाई हृदयबाटै प्रेम गर्छु र प्रेमपूर्वक यो पत्र लेख्दैछु। मेरो यो पत्र कुनै पूर्वाग्रहमा लेखिएको होइन, तर स्वस्फुर्त रुपमा प्रेमसाथ लेख्दैछु। त्यसैले यस पत्रका कुराहरुलाई ध्यान दिएर पढ्नु होला।
अब भन्नुहोस् झाङ गिल्झा कसरी यरुशलेम माता वा परमेश्वर माता भई त? तपाईको तर्कमा उत्पत्ति १:१ मा प्रयोग गरिएको हिब्रू शब्द ‘एलोहिम’ ले बहुवचन देखाउँछ र यसले परमेश्वर पिता र परमेश्वर मातालाई जनाउँदछ। ठीकै हो यस शब्दले बहुवचन जनाउँदछ तर यसले परमेश्वर माता वा पितालाई जनाउने नभई पिता, पुत्र र पवित्र आत्मालाई जनाउँदछ। नता पुरानो नियममा नता नयाँ नियममा परमेश्वरको भाले पोथी स्वरुपको कुनै संकेत वा अवधारणा पाइएको छ। बरु पवित्र शास्त्रको क्रमिक प्रकाशको क्रममा नयाँ नियममा ज्यादै प्रष्ट गरी उल्लेख भएको छ कि परमेश्वरमा त्रिएकता छ। परमेश्वर एक हुनुहुन्छ तर उहाँमा तीन व्यक्तित्व आवद्ध छन्, परमेश्वर पिता, परमेश्वर पुत्र अनि परमेश्वर पवित्र आत्मा (मत्ती २८:१९; २ कोरिन्थी १३:१४; १ यूहन्ना ५:७)।
उत्पत्ति १:१७ को अर्थ तपाईले यसरी व्याख्या गर्नुभयो कि मानिस परमेश्वरकै प्रतिरुपमा नर र नारी गरी सृष्टि गरिएकोले परमेश्वरको पनि नर र नारी स्वरुप रहेको छ। तर तपाईले गर्नुभएको व्याख्यामा गम्भीर त्रुटि रहेको छ। परमेश्वरले सृष्टि गर्ने कार्य गर्नुहुन्छ नकि जन्माउने कार्य। स्वर्ग विवाहवारी र सन्तान उत्पादनको थलो होइन। परमेश्वरका जनहरुले स्वर्गमा विवाह गर्ने छैनन् नता स्वर्गदूतहरुले नै गर्दछन् (मत्ती २२:३०)। परमेश्वर जो यहोवा हुनुहुन्छ आफैंमा अस्तित्व रहेको परमेश्वर हुनुहुन्छ जसलाई जिउन निम्ति केही कुराको आवश्यकता पर्दैन। विवाहको आवश्यकता पर्दैन। गलाती ४:२१-३१ लाई आधार मानेर तपाई यरुशलेम माताको पुष्टि गर्ने जमर्को गर्नुहुन्छ। तर यो खण्डले व्यवस्था र अनुग्रहको शिक्षा सिकाएको हो नकि परमेश्वर माताको शिक्षा। गलातीहरु, जो व्यवस्थाका आज्ञाहरुमा भर परेका थिए उनीहरुलाई सोधिएको छ, “तिमी व्यवस्थाको अधीनतामा रहन चाहनेहरुले मलाई भन, के तिमीहरु व्यवस्थाको कुरा सुन्दैनौ” (गलाती ४:२१)? यहाँ यरुशलेम र सिनैलाई सारा र हागारसंग तुलना गर्दै क्रमश: अनुग्रह र व्यवस्थाको दृष्टान्तको रुपमा प्रश्तुत गरिएको छ। स्पष्ट गरी लेखिएको छ कि सिनै र यरुशलेमले दुई वाचाहरुको दृष्टान्त दिंदछ (गलाती ४:२४,२५)। सिनैबाट व्यवस्था आयो जो पुरानो वाचा हो जसले मानिसलाई केवल दास बनाउँछ तर यरुशलेम, जहाँ नयाँ वाचा बमोजिम ख्रीष्टको वलिदान भयो, जसबाट सबैमा अनुग्रह आयो। ख्रीष्टको वलिदान नयाँ वाचा बमोजिम भएको हो (१ कोरिन्थी ११:२५)। पुरानो वाचा अनुसार बारंबार पशुहरुको वलिदान चढाइन्थ्यो। तर नयाँ बाचा बमोजिम ख्रीष्टको सदाको निम्ति एक पल्ट वलिदान भएको छ (हिब्रू १०:११,१२)। तसर्थ व्यवस्था र अनुग्रहको सन्दर्भमा आएको गलाती ४:२१-३१ को प्रकाशलाई परमेश्वर माताको अस्तित्वको पुष्टि गर्न प्रयोग गर्नु तपाईको ठूलो कमजोरी र भूल हो। यस्ता कर्तुतहरुका कारण धेरै जना भ्रमित भइरहेका छन् जो अत्यन्तै दु:खद हो।
तपाई फेरि प्रकाश १९:७ उल्लेखित शब्दावली ‘उहाँकी पत्नी’ लाई उही झाङ गिल्झाको अस्तित्व पुष्टि गर्न प्रयोग गर्नुहुन्छ। तर यस पदमा प्रयोग भएको ‘उहाँकी पत्नी’ ले ख्रीष्ट येशूको मण्डलीको चित्रण गर्दछ जो सबै युगहरुमा ख्रीष्टमा बचाइएकाहरुको सिंगो समूह हो। प्रकाश १९:१ मा त्यो समूह देखा परेको छ जसलाई “धेरै मानिसहरु” भनिएको छ भने १९:२ मा “ठूलो भीड” भनेको छ। त्यसपछि १९:७ मा “उहाँकी पत्नी” को उल्लेख गरेको छ जुन पत्नीको वस्त्र चाहिँ १९:८ मा “पवित्र जनहरुका धार्मिकताका कामहरु” भनेका छन्। तसर्थ ‘मण्डली’को पूर्ण तयारी त्यसवेला पूरा हुन्छ जव बचाइनेहरुको संख्या पूरा हुन्छ। प्रकाश २१:२,३ मा नयाँ यरुशलेम “दुलही झैं तयार पारिएको” भन्ने उल्लेख छ। नयाँ यरुशलेम थुमाकी पत्नी मण्डलीको वासस्थान हुनेछ। जहाँ परमेश्वर आफ्ना मानिसहरुसंग बास गर्नुहुनेछ र तिनका आँसु पुछिनेछ जस्तो कि विवाहपछि पतिले पत्नीका निम्ति गर्दछ। यसर्थ तपाईंले दावी गर्दै प्रचारको मूख्य विषय बनाउदै आएको ‘यरुशलेम माता’को बाइबलीय आधार छैन।
प्रिय मित्र, तपाईले परमेश्वरको त्रिएकतालाई अस्वीकार गर्नुभएको छ। तपाईको अनुसार पिता, पुत्र, पवित्र आत्मा भन्नु एकै व्यक्तिलाई दिइएका तीन उपाधि वा जिम्मेवारी मात्र हुन्। तर पवित्र शास्त्र बाइबलले परमेश्वर एक हुनुहुन्छ तर उहाँमा तीन व्यक्तित्व परमेश्वर पिता, परमेश्वर पुत्र अनि परमेश्वर पवित्र आत्मा (मत्ती २८:१९; २ कोरिन्थी १३:१४, १ यूहन्ना ५:७) आवद्ध छन् भन्ने सत्यता उल्लेख गरेको छ। उहाँ अनादि देखि अनन्तसम्म त्रिएक हुनुहुन्छ। परमेश्वरको त्रिएकता पवित्र शास्त्रको प्रारम्भमा नै उल्लेख गरिएको पाइन्छ। परमेश्वर पिता सृष्टि गर्दै हुनुहुन्थ्यो (उत्पत्ति १:१)। पवित्र आत्मा परमेश्वरको काममा साथ दिंदै हुनुहुन्थ्यो। उहाँ समग्र पृथ्वीलाई ढाकिरहेका पानी माथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो (१:२)। परमेश्वर बोल्नुभयो अनि उहाँको वचनद्वारा समग्र सृष्टि तयार भयो(१:३)। त्यो वचन पुत्र हुनुहुन्थ्यो (यूहन्ना १:१-३, १४)। यसरी पवित्र शास्त्र बाइबलको शुरुमा नै त्रिएक परमेश्वर देखिनु भएको छ। पुरानो नियममा पिता र पुत्र वीचका वार्ताहरु उल्लेख भएका छन्। भजन संग्रह २:७ मा उल्लेख गरिएको छ, ‘परमप्रभुले मलाई भन्नु भएको छ: “तिमी मेरा पुत्र हौ; आज मैले तिमीलाई जन्माएको छु।” यहाँ पुत्रत्वले पिता भन्दा सानो स्थान जनाउँदैन तर पिता बरावरको स्थानलाई जनाउँदछ। तसर्थ पिताले पुत्रलाई यसरी सम्बोधन गर्नुहुन्छ, “हे परमेश्वर, तपाईको सिंहासन युगानुयुग रहन्छ; धार्मिकताको राजदण्ड तपाईको राज्यको राजदण्ड हो” (हिब्रू १:८)।
निश्चय पुरानो नियम समयमा परमेश्वर पिता प्रमुख भूमिकामा हुनुहुन्थ्यो, परमेश्वर पुत्र मानिसको रुपमा संसारमा आउनुहुँदा प्रमुख भूमिकामा हुनुहुन्थ्यो। पेन्तिकोसको दिनमा पिताको प्रतिज्ञा बमोजिम पवित्र आत्मा आउनुभएपछि आज मण्डली युगमा पवित्र आत्माको भूमिका महत्वपूर्ण रहेको छ। तर त्रिएक परमेश्वर सधैं आपसमा संगति गर्नुहुन्छ, संवाद गर्नुहुन्छ, संगै रहनुहुन्छ। आङसाङ होङको जन्मपछि मात्र पवित्र आत्मा पृथ्वीमा आउनुभयो भन्ने तपाईको भनाई गलत हो। उहाँ पेन्तिकोसको दिनदेखि पृथ्वीमा हुनुहुन्छ। तर कुनै पनि युग वा समयका निम्ति पुत्र नै मुक्ति दाता हुनुन्थ्यो। यशैया ४३:११ ले पुरानो नियम समयमा केवल पिता मात्रै मुक्तिदाता हुनुहुन्छ, पुत्र वा पवित्र आत्मा होइनन् भन्न खोजिएको होइन। पुरानो नियमको यहोवा र नयाँ नियमको येशूमा समानता छ। यस पदले उल्लेख गरेको छ, “म, हो, म नै परमप्रभु (यहोवा) हुँ। मबाहेक अरू कोही मुक्तिदाता छैन।” यस वचनको अर्थ केवल यहोवा परमेश्वर वा त्रिएक परमेश्वर नै एक मात्र मुक्तिदाता हुनुहुन्छ भन्ने हो नकि कुनै अन्य ईश्वरहरु वा देवी-देवता। यस कुरालाई स्पष्ट पार्ने काम त्यस पछि तत्काल आउने पद यशैया ४३:१२ ले खुलस्त पारेको छ, जसमा लेखिएको छ, “मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु, तिमीहरूका बीचमा मैले यो गरेको हुँ, अन्य ईश्वरले होइन। तिमीहरु मेरा साक्षी हौ, कि म नै परमेश्वर हुँ, परमप्रभु भन्नुहुन्छ।”
येशू ख्रीष्ट पुरानो नियममा उल्लेख गरिनुभएका यहोवा भन्दा भिन्न हुनुहुन्न; जस्तै, यहोवा गोठालो हुनुहुन्छ (भजन संग्रह २३:१)। येशू ख्रीष्ट गोठालो हुनुहुन्छ (यूहन्ना १०:११; १ पत्रुस २:२५; ५:४)। यहोवा सृष्टिकर्ता हुनुहुन्छ (भजन संग्रह १०२:२४-२७)। येशू सृष्टिकर्ता हुनुहुन्छ (हिब्रू १:१०-१२; कलस्सी १:१६,१७)। यहोवा ठक्करका चट्टान हुनुहुन्छ (यशैया ८:१३,१४)। त्यसरी नै येशू ठक्करका चट्टान हुनुहुन्छ (१ पत्रुस २:७,८)। यहोवा अल्फा र ओमेगा हुनुहुन्छ (यशैया ४१:४; ४४:६)। येशू अल्फा र ओमेगा हुनुहुन्छ (प्रकाश १:११,१७)। यहोवा ईस्रायलका ज्योति र महिमा हुनुहुन्छ (यशैया ६०:९)। येशू ईस्रायलका ज्योति र महिमा हुनुहुन्छ (लूका २:३२)। यहोवा हृदयहरु तलास गर्नेवाला हुनुहुन्छ (यर्मिया १७:१०)। येशू हृदयहरु तलास गर्नेवाला हुनुहुन्छ (प्रकाश २:२३)। यहोवा हराएकालाई खोज्ने र वचाउनेवाला हुनुहुन्छ (इजकिएल ३४:११,१२)। येशू हराएकालाई खोज्ने र वचाउनेवाला हुनुहुन्छ (लूका १९:१०)।
पुरानो नियम भरि नै मानिसहरु वलिदानद्वारा मात्र परमेश्वरकहाँ आउन सक्दथे। पुरानो नियममा चढाइने थुमाले आउने ख्रीष्टको चित्रण दिंदथ्यो। जब ख्रीष्ट संसारमा शरीरमा आउनुभयो, तब यूहन्नाले भने, “हेर परमेश्वरको थुमालाई जसले संसारको पाप उठाई लैजानुहुन्छ (यूहन्ना १:२९)।” तसर्थ जब येशूको सम्बन्धमा यसो भनियो “न ता अरू कसैमा मुक्ति छ; किनभने स्वर्गमनि मानिसहरूको बीचमा अरू कुनै नाम दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ” (प्रेरित ४:१२) तब सही भनियो। केवल ख्रीष्ट येशूद्वारा मात्र मानिसहरुले मुक्ति पाउन सक्दछ। पवित्र आत्मालाई मुक्तिदाता भनिएको छैन। उहाँ सधैं ख्रीष्ट येशूलाई उचाल्नुहुन्छ। पवित्र आत्मालाई प्रार्थना गरिएको उदाहरण छैन नता उहाँको नामद्वारा प्रार्थना गरिएको छ। तसर्थ आङसाङ होङ पवित्र आत्मा हो भने उनको नाममा प्रार्थना गर्नु गलत हुन्छ।
प्रिय मित्र, आङसाङ होङको उपस्थितिलाई पुष्टि गर्न तपाईले धेरै भ्रमपूर्ण व्याख्या गरिरहनुभएको छ। यसका लागि तपाईले प्रयोग गर्ने गरेका प्रकाश ३:१२ मा लेखिएको वचनलाई पुन: विचार गर्नोस्, “जसले जय पाउँछ, उसलाई मेरा परमेश्वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु, र ऊ कहिल्यै बाहिर जानेछैन; अनि म उसमाथि मेरा परमेश्वरको नाम, मेरा परमेश्वरको शहरको नाम, जो नयाँ यरुशलेम हो, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउनेछ, र मेरो नयाँ नाम लेखिदिनेछु।” यसमा उल्लेखित नयाँ नाम ‘आङसाङ होङ’ हो भन्ने दावी तपाईको रहेको छ। तर यस खण्डमा उल्लेखित विवरण ख्रीष्ट येशूको हो। उहाँ स्वयं बोलिरहनुभएको छ। दाऊदको चावी धारण गर्ने वाला (प्रकाश ३:७) येशू हुनुहुन्छ जसले दाऊदको अधिकारमा वा सिंहासनमा एकदिन हजार वर्षे राज्यमा राजाको रुपमा शासन गर्नुहुनेछ। उहाँको आगमन चाँडै हुनेवाला छ (प्रकाश ३:११)। उहाँको आगमन र हजार वर्षे राज्य पछि विजयीहरुलाई इनाम दिइनेछ। इनामहरुमा ख्रीष्ट येशूको नयाँ नाम पनि एक हुनेछ। त्यो नयाँ नाम ख्रीष्ट येशूको महान प्रेम र अनुग्रहको चिन्ह हुनेछ। त्यो दिन आउन बाँकी नै छ। त्यो नयाँ नामको घोषणा आज गरिंदैन। त्यो नयाँ नाम आङसाङ होङ होइन। प्रकाश २:१७ पनि ३:११ संग समान देखिन्छ। तपाईं ख्रीष्टको दोश्रो आगमन भइसकेको ठान्नुहुन्छ। ख्रीष्टको दोश्रो आगमन पृथ्वीमा हजार वर्षे राज्यका निम्ति हुनेछ (मत्ती २५:३१; प्रकाश २०:४)। ख्रीष्टको राज्य शान्तिको राज्य हुनेछ किनकि त्यसवेला शान्तिका राज कुमार राज्य गर्नुहुन्छ। आज संसारमा कहाँ शान्ति छ? अर्को कुरा आङसाङ होङको आगमनलाई ख्रीष्टको दोश्रो आगमन मान्ने हो भने किन उनी मरेर गए त? किन उनी मृत्युद्वारा निलियो त? ख्रीष्टको दोश्रो आगमन भएकै छैन मित्र। भ्रममा नपर्नोस्। जब ख्रीष्टको दोश्रो आगमन हुन्छ सारा विश्वले थाहा गर्नेछन् यहाँ सम्म कि विरोधीहरुले समेत (प्रकाश १:७)। ख्रीष्ट येशूले हामीहरुलाई अघिबाटै चेतावनी दिइसक्नु भएको छ, “हेर मैले तिमीहरूलाई पहिल्यै भनिदिएको छु। यसकारण तिमीहरुलाई तिनीहरुले ‘हेर, उनी उजाडस्थानमा छन्’ भनी भने भने तिमीहरु निस्केर नजाओ; ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भनी भने भने विश्वास नगर। किनभने जसरी विजुली पूर्वबाट निस्केर पश्चिमसम्म चम्कन्छ, मानिसका पुत्रको आगमन पनि त्यसरी नै हुनेछ।” त्यसैले अब पुष्टि भइसकेको छ कि आङसाङ होङ ख्रीष्ट होइनन्। यस सम्बन्धमा हामीहरुलाई चेतावनी मिलिसकेको छ, “होसियार बस, कसैले तिमीहरूलाई धोकामा नपारोस्! किनकि धेरैजना म ख्रीष्ट हुँ’ भन्दै मेरो नाममा आउनेछन्, र धेरैलाई धोका दिनेछन्” (मत्ती २४:४,५)। यी सबै सत्यताहरुमा परमेश्वरले तपाईलाई उहाँको पहिचानमा बुद्धि र प्रकाशका आत्मा दिएका होऊन् (एफिसी १:१७)।
प्रिय मित्र, तपाईंसंग गर्नु पर्ने कुराहरु धेरै छन्। तैपनि समयलाई ध्यान दिंदै संक्षिप्त रुपमा अरु थप केही कुराहरु गर्न चाहान्छु। तपाई जताततै ईशाईहरुलाई खोज्दै ‘तिमी भ्रममा छौ किनकि तिमी निस्तार चाड नमानेर प्रभुभोज मान्दछौ’ भनि हिंड्छौ। तर मित्र प्रस्थान १२:२४-२७ लाई राम्ररी अध्ययन गर्नोस्। निस्तार चाड ईस्रायलीहरुका निम्ति पुस्ता पुस्तालाई मान्न दिइएको विधि हो। यस चाडद्वारा इस्रायलीहरुले मिश्र देशमा रहेको उनीहरुको दासत्वको छुटकाराको संझना गर्नुपर्दथ्यो। साथै निस्तारको पाठोले ख्रीष्ट येशूको वलिदानको चित्रण गर्दथ्यो। इस्रायलले निस्तार चाडद्वारा गवाही दिंदै आएको निस्तारको पाठो येशू ख्रीष्ट नै हुनुहुन्थ्यो
(१ कोरिन्थी ५:७)।
तर प्रभु भोज वा रोटी भचाई प्रभु येशू ख्रीष्टको मृत्युको सम्झना र प्रचारको निम्ति हो। यो विधि प्रभु येशूबाट शुरू भएको हो। प्रभुभोजमा लिइने रोटी र दाखरसले प्रभु येशू ख्रीष्टको शरीर र रगतको सम्झना दिँदछ। प्रभुभोज अक्सर लिने गर (१ कोरिन्थी ११:२५) भन्ने प्रभुको आज्ञा अनुसार मण्डलीको निर्णय अनुसार महिनामा एक पटक वा सो भन्दा बढि प्रभुभोज लिन सकिन्छ। प्रभुभोजमा मानिसहरुको पापहरुको निम्ति ख्रीष्ट येशूको शरीर तोडिएको र रगत बहेको सम्झना गर्दै रोटी र दाखरस लिइन्छ। १ कोरिन्थी ११:१७-३२; मत्ती २६:२६-२९; मर्कूस १४:२२-२५; लूका २२:१९-२०। प्रथम मण्डली रोटी भचाईमा लागिरहे। बार्षिक रुपमा होइन एकै वर्षमा बारंबार (प्रेरित २:४२)। मण्डलीहरु हप्ताको पहिलो दिनमा रोटी भाँच्नका निम्ति भेला हुने गर्दथे, जस्तो कि त्रोआसमा भएको मण्डली (प्रेरित २०:७)।
मित्र, तपाई भन्नुहुन्छ विश्राम दिन मान्नै पर्दछ। तर याद गर्नुहोस् कि विश्राम दिन परमेश्वर र ईस्रायलीहरु बीचको अनन्तकालीन चिन्ह हो (प्रस्थान ३१:१२-१७)। विश्राम दिन पालन गर्नेले कुनै काम गर्न नहुने, भारी उठाउन नहुने, लामो यात्रा गर्न नहुने जस्ता थुप्रै नियमहरु समावेश छन्। तर आज हामी व्यवस्था बमोजिम होइन तर ख्रीष्ट येशूको अनुग्रह बमोजिम बचाइएका छौं। आराधना सभाहरु मण्डलीहरुले पहिलो शताब्दी देखि नै हप्ताको पहिलो दिन मान्ने गर्दथे (प्रेरित २०:७)। तर साप्ताहिक विदा आइतवारको सट्टामा अन्य दिनमा परेमा मण्डलीको निर्णयले अन्य दिनमा पनि साप्ताहिक आराधना सभा संचालन गर्न सकिन्छ शनिवारै हुनुपर्छ भन्ने होइन (रोमी १४:५,६)।
प्रिय मित्र, तपाईलाई भन्नु पर्ने परमेश्वरका सत्यताहरु अझै छन्। तरै पनि उपरोक्त सत्यताहरु बुझ्नु भएमा बाँकी कुराहरु बुझ्नका निम्ति तपाईका आँखाहरु खुल्दै जानेछन् (एफिसी १:१७,१८)। त्यसैले आजलाई पत्र थप नलम्ब्याऊँ। पत्र तपाईंलाई कस्तो लाग्यो। यसले तपाईका मनका आँखाहरु उज्याला पारेमा र जीवन परिवर्तन गरेमा जवाफ लेख्नुहोला।
उही तपाईको भलो चाहाने
पास्टर यू. जे. गुरुङ