सूर्य अस्ताउँदै गर्दा आज मान्दरधुम बनबाटिका आइपुगेछु
माथि सुनापति युगौं देखि अटलतामा उस्तै रमिरहेथ्यो
तल सुनकोशी आफ्नो विशालतामा सदा झैं गुन्जिरहेथ्यो
म आफैं चाहिँ आफ्नो क्षणभंगुरतामा यहाँ टोलाइरहेछु|
नीला सगरमनि जीवनको लघुता नियालिरहेछु
जीवन जिउनुथियो यस धर्तीमा जिएको अनुभूति गरिरहेछु
जीवनमा के सफल के असफल केलाइरहेछु
के यात्रा के नियात्रा दौड कि विश्राम गमिरहेछु|
सुस्त सुस्त प्रवल बायुहरू माथि माथि चील उडिरहेछ
तल नागवेली र मोडहरूमा एकाध पांग्राहरू गुडिरहेछ
नागबेली अनि स्पष्ट देखिने मार्ग र घुम्तिहरूले
जीवनका फेरो र घुम्तिहरूको याद दिलाइरहेछ|
कहिले गर्मागर्मी त कहिले चिसो अनुभुति गरिरहेछु
कहिले शान्त त कहिले उतारचढाव भोगिरहेछु
जीवन एउटा यात्रा हो अवर्णनीय अनुभूति हो
नौरंगी सपना र वास्तविकताको गाथा हो|
यो एकान्त अनि शुन्यतामा अतीतहरूको याद छ
मीठा र तीता संझनाहरूको एउटा गजवको मिठास छ
जीवन जिइएको छ पाइलाहरू छोडिएको छ
भुल भए क्षमा प्रार्थी छ कसैले भुल गरे माफी छ|
म हजार वर्ष जिउने भए हजार सपना बुन्थेंहोला
हजार सपनाका हजार अर्पण हुन्थेहोला
तर एउटा जीवन जिइएको छ जसोतसो गरिएकोछ
यो पहाडमा रमिएको छ जीवन गाथा रचिएकोछ|
यू./जनवरी २४, २०२१