No comments yet

हामी किन धन्यवादी बन्ने?

            जब म ख्रीष्टमा आएँ तब मैले सिकेका महत्वपूर्ण विषयहरूमा एक चाहिँ धन्यवादी बन्नु थियो। आज संसारमा धन्यवादी हुनु जटिल विषय बन्न पुगेको छ। मानिस पहिलो त संतुष्ट छैनन्। असंतुष्ट मानिस धन्यवादी हुँदैन। उसलाई पुगेकै छैन, उनलाई भनेको जस्तो भएकै छन्। यसमा उसले आफ्नो भाग्यको दोष देख्छ, बुबा आमाको दोष देख्छ, परिवारको दोष देख्छ, समाजको दोष देख्छ, परिस्थिति परिवेशको दोष देख्छ, सरकारको दोष देख्छ। ऊ निरन्तर असंतुष्ट छ, निरन्तर कृतघ्न छ। यस्तो अवस्थामा ऊ कसरी खुशी हुन सक्दछ? इस्रायलीहरू बारंबार गनगन गरिरहे। आफ्ना अगुवाको विरुद्ध गन गन गरिरहे। विद्रोह गरिरहे। ती धन्यवादी बनेनन्। कुनै पनि कुरा कसैको योगदान, श्रम वा भूमिका विना उपलब्ध हुँदैन। सृष्टि परमेश्वरको दान हो, कार्य हो। मानिस त्यस वापत धन्यवादी छैनन् (रोमी १:२१)। सुसमाचार सुनाउने क्रममा मकवानपुरको एक स्थान चिउरीबगैंचामा एक वृद्ध व्यक्तिले भन्नुभयो, “मैले कुनै पाप गरेको छैन”। अनि मैले भनें के तपाई प्रवन्ध गरिएको हावा, पानी, वस्तु, घाम, जुन, ताराहरूका निम्ति परमेश्वरमा धन्यवादी हुनुहुन्छ? सृष्टिकर्ता परमेश्वरलाई धन्यवाद दिनुहुन्छ? महिमा दिनुहुन्छ? उहाँले जवाफ दिनुभयो, “त्यसो गरिएको छैन”। मैले भनें त्यो ठूलो पाप हो (रोमी ३:२३)। यसरी मानव जाति निरन्तर रुपमा अधन्यवादी जीवन जिउँछन्। के हामी बाल्यकालमा, युवावस्थामा आफ्ना बुबाआमा प्रति धन्यवादी बन्यौं? सायद धन्यवाद त दिंदै दिएनौं। त्यसरी अरूहरू प्रति हामी कहिल्यै धन्यवादी बनेनौं।

            हामी धन्यवादी बन्नु पर्दछ। धन्यवादी बन्न सिक्दै जानुपर्दछ। किनकि कुनै पनि कुरा कसैको योगदान, श्रम वा समर्पण विना आउँदैन। तपाईको आत्मिक जीवन, भौतिक जीवनका निम्ति जे लाभ मिलेको छ त्यसमा हामी सम्बन्धित व्यक्तिप्रति धन्यवादी बन्नुपर्दछ, धन्यवाद दिनुपर्दछ। धन्यवाद दिंदा पैसा खर्च हुँदैन। कसैबाट धन्यवाद प्राप्त हुँदा आर्थिक लाभ हुँदैन। त्यो शब्दको खर्च मात्रै हो। तर त्यसमा हृदयको रमाहट, कृतज्ञता जोडिएको हुन्छ। त्यसले श्रम, योगदान, समर्पण गर्नेलाई सुकर्म, सेवाको निम्ति उत्साह प्रदान गर्दछ, शान्ति र आनन्द प्रदान गर्दछ। तसर्थ हामी सम्बन्धित व्यक्तिलाई धन्यवाद दिने गरौं। पावलले थिस्सलोनिकीका विश्वासीहरूलाई हरेक कुरामा धन्यवाद दिन सिकाएका थिए (१ थिस्सलोनिकी ५:१८)। परमेश्वरको व्यवस्थामा परमेश्वरलाई धन्यवादको वलि दिन आज्ञा दिनुभएको थियो (लेवी ७:१२)। धन्यवादको वलि मेलवलिसंगै चढाइएको थियो। परमेश्वरसंगको मिलाप, विश्वासीहरू विचको आपसी मिलाप र शान्तिमा धन्यवादको वलि चढाइन्छ। संकटमा, जटिलता र हर अवस्थामा परमेश्वरसंग र आपसमा मेलमिलापमा रहनु परमेश्वरको इच्छा हो। ठूला सभाहरूमा परमेश्वरलाई धन्यवाद दिनु, उहाँको प्रशंसा गर्नु परमेश्वरको इच्छा हो। पवित्र जनहरूले त्यसो गर्ने गरेको पाइन्छ (भजन संग्रह ३५:१८)। लामो अनि खतरानक यात्रापछि पवित्र जनहरू रोमबाट धेरै परसम्म पावललाई भेट्न आएका थिए। उनले त्यसवेला सबैका विच धन्यवाद चढाएका थिए (प्रेरित २८:१५)।

            परमेश्वरले हाम्रो जीवनमा धेरै आशिषहरू दिनुभएकोछ। हामीले आशिष गन्न सिक्नुपर्दछ। कतिपया आशिषहरूको हामी अज्ञानताका कारण गणना गर्दैनौं। प्रभुले हामीलाई सिकाउनुभएको होस् कि हामी आशिष देख्न सकौं र गन्न सकौं। आशिष केवल सकरात्मक परिस्थिति, लाभ वा भलाई मात्र होइन तर नाना प्रकारका परिस्थिति र परीक्षाहरू पनि आशिष हुन सक्दछन्। तसर्थ यस्ता परिस्थिति वा परीक्षाहरूमा खुशी हुनु, आनन्द संझनु परमेश्वरको इच्छा हो। किन? किनकि यसले हाम्रो आत्मिक जीवनमा धीरज उत्पन्न गर्दछ, परिपक्वता ल्याउँदछ, शिद्धता ल्याउँदछ (याकूब १:२-४)। धीरज धर्नेहरूलाई हामीले धन्यका संझनुपर्दछ। अयुवको धीरजको आज विश्वव्यापी रुपमै गुणगान हुन्छ (याकूव ५:११)। के कुराले उनको जीवनमा धीरज पैदा गरायो त? संकटले होइन? आर्थिक, शारीरिक कष्ट र नोक्सानीले होइन? आज विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीले नेपाललाई पनि गाँजेको अवस्था हो। नेपालमा बसोबास गरिरहेका ख्रीष्टियनहरूले पनि यस महामारी चाखेका छन्। यसले धेरै जना ख्रीष्टियनहरूको पनि ज्यान लिएको छ। ख्रीष्टियनहरूलाई पनि आगोले पोल्न सक्दछ। ख्रीष्टियन र अन्यको शरीरलाई उस्तै गरी आगोले पोल्न सक्दछ, रोगले कष्ट दिन सक्दछ। तसर्थ महामारीको चपेटामा ख्रीष्टियनहरू पनि पर्न सक्दछ। तर यी सबै महामारी र विपत्तिले ख्रीष्टियनहरू धीरज पैदा गराएको हुनुपर्दछ अनि शिद्धता। यसका निम्ति पनि के हामी परमेश्वरमा गन गन गरौं। त्यसो गर्न मिल्दैन। सार्वभौम परमेश्वर सबै परिस्थितिको नियन्त्रक र प्रभु हुनुहुन्छ। परमेश्वरलाई धन्यवाद यस परिस्थितिको निम्ति। यसले ख्रीष्टियन जीवनमा के कस्ता तौरतरिकाले काम गरेको छ, प्रतिफल ल्याएको छ सो हामी सबै नबुझौंला। तर एउटा कुरा हामी जान्दछौं परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाईको निम्ति काम हुन्छ (रोमी ८:२८)।

            तसर्थ सबै कुराको निम्ति परमेश्वरलाई धन्यवाद (फिलिप्पी ४:६)। पापको दासत्वबाट छुटकाराको निम्ति धन्यवाद (रोमी ६:१७)। ख्रीष्ट येशूमा विजयको निम्ति धन्यवाद (१ कोरिन्थी १५:५७)। पवित्र जनहरूका निम्ति धन्यवाद (एफिसी १:१६)। बुबा आमालाई धन्यवाद। परिवारका दाज्यूभाई, दिदी बहिनीलाई धन्यवाद। मण्डलीका अगुवा, कारिन्दा, सेवक सेविका, विश्वासी दाज्यूभाई दिदीबहिनीहरूलाई धन्यवाद। सरकार, उच्चपदस्थ अधिकारीहरूलाई निम्ति धन्यवाद। परमेश्वरलाई सदासर्वदा धन्यवाद (प्रकाश ४:९; ११:१७)। आमेन।        

पा. यू. जे. गुरुङ

Post a comment