परिवार एक व्यक्तिको जीवन आधारशिला हो जहाँबाटै उसले जीवनको अनुभूति गर्छ, उपभोग गर्छ। परिवार बुबा, आमा, छोरा छोरीहरू मिलेर बनेको हुन्छ। बुबा आमाको पारिवारिक व्यवस्थापनले छोराछोरीहरूले जीवनका यथासंभव उत्तमताहरूको उपभोग गर्दछ। म जुन परिवारमा हुर्कें त्यस परिवारको व्यवस्थापनमा म रमाएँ, त्यस परिवारको सुखदु:खको साथी बनें। मेरा बाल अनुभूतिहरूले मलाई अझै शितलता प्रदान गर्छ, अझै मेरा मन मस्तिस्कहरू उत्साही हुन्छन्, सल्बलाउँछन्। नदी जंगलहरूमा मैले विताएका क्षणहरू, साथीसंगीहरूसंग मैले विताएका पलहरू मलाई अझै याद आउँछ। प्रकृतिको काखमा रहेर काफल ऐशेलू टिप्न बन बन हिंडेका, दह-रहहरूमा भयानक गर्मी याममा पौडी खेलेका, दुवाली फर्काई फर्काई माछा मारेका मलाई याद आउँछ। मैलै विताएका बाल तथा नवयुवावस्थाका दिनहरू सुखद लाग्छ, अविस्मरणीय लाग्छ। एउटा परिवारको उद्देश्य पनि यही हो कि आफ्नो औकात मुताविकको पारीवारिक व्यवस्थापनमा पति-पत्नी तथा नानीहरू रमाऊन् र जीवन अविस्मरणीय रहोस्।
हालै एक मित्रले काठमाडौं उपत्यकाका विभिन्न परिवारहरूका इतिहास वृतान्त सुनाउँदै भन्नुभयो, ‘काठमाडौं उपत्यकाका धेरै जना वृद्ध-वृद्धाहरूले दु:ख पाएका छन्। तिनले आफ्ना भएका सारा जग्गाजमीन केही नराखी छोराहरूलाई बाँडिदिए। छोराहरूले ती जग्गा जमिन वेचे, आफ्नै निम्ति खर्च गरे। कोही कहाँ पुगे, कोही कहाँ गए। वृद्धावस्थामा ती वृद्ध-वृद्धाहरू घरको न घाटको बन्यो। साह्रै कष्टकर जीवन विताइरहेका छन् तिनले। कतिपया धेरै धनाढ्य र सम्पन्न व्यक्तिहरू समेत पनि वृद्धावस्थामा वृद्धाश्रमहरूको शरणमा पुगेका छन्।’ यस्तो कथा देशै भरि पाइन्छन्। औसत मात्रामा ६० नाघेपछि नै वृद्ध-वृद्धाहरूले तनाव व्यहोरेका हुन्छन्। हाम्रो परिवेशमा धेरै परिवारहरू संयुक्त परिवारको रुपमा बस्दछन्। बुबाको परिवारसंगै छोराहरूका परिवारहरू पनि संगै रहँदा, बस्दा भारवहन गर्न परिवार प्रमुखको चुनौति ठूलो चुनौति हुन्छ। अन्तर पारीवारिक संघर्ष बढ्ने स्थिति पैदा हुन्छ। यसले जीवनलाई अमिलो पारिदिन्छ। अब्राहामले पनि यस स्थितिको सामना गर्नुपरेको थियो। तर उनका भतिज लूतको परिवार अलग्गिएपछि अब्राहामको परिवारमा पुन: शान्ति छाएको थियो, पारीवारिक व्यवस्थापन सहज बनेको थियो (उत्पत्ति १३:५-१२)। अब्राहामले आफ्ना छोराहरूको व्यवस्थापन पनि बुद्धिमानी साथ मिलाएको थियो। उनका छोराहरू पनि बयस्क बने, विवाह गरे। तिनका आ-आफ्ना परिवारहरू भए। उनले आफ्ना छोरा ईशहाकबाट बाँकी छोराहरूलाई अलग गराए। उनीहरूलाई उपहारहरू दिए र पूर्वीय देशमा पठाए। उनको त्यस व्यवस्थानले उनका छोराहरूका परिवारहरू पनि व्यवस्थित भए, आशिषित बने (उत्पत्ति २५:५,६)। इशहाकको स्वतन्त्र परिवार सुखी र आशिषित बन्यो।
उपरोक्त सन्दर्भलाई विश्लेषण गर्दा केही तथ्यहरू बाहिर आउँछ। एउटा त संयुक्त परिवार प्रणाली संचालन गर्न एउटा ठूलो चुनौति रहेको हुन्छ। जेनतेन चलेको त होला तर महिलाहरू विशेष गरी बुहारीहरूले कतिको स्वतन्त्रता र जीवनको उपभोग गर्न पाइरहेका छन् भन्ने प्रश्न रहन्छ। महिलाहरूको अमिलो जीवनको प्रभाव पुरुषहरूमाथि कसरी पर्न आउँछ त्यो मननीय हुन्छ। अर्को त परिवारमूलीहरू विशेषत: बुबा आमाको भूमिका कसरी स्थापित गरिएको छ? जसरी उमेर बढ्दै जान्छ उहाँहरूको कार्यक्षमता र उत्पादन क्षमता घट्दै जान्छ। यसले परिवारमा उनीहरूको महत्व घट्न गई क्रमिक रुपमा स्थान-मानमा विस्थापित गर्दै लैजाने स्थिति बढ्दै जान सक्छ। अन्तत: बुबा आमालाई उनीहरूका आफ्नै बुद्धि र श्रमद्वारा आर्जेका वा थेगेका जग्गा-जमीनमाथिको हकमा समेत निष्प्रभावी बनाइन्छ र त्यसलाई बाँडचुंड गरिन्छ। बुबा आमाको जिउनी स्वरुप केही राख्ने प्रचलन देखिन्छ तर धेरै घटनाहरूमा त्यो समेत नराखिएको घटनाहरू रहेका छन्। अन्तत: ती वृद्ध-वृद्धाहरू जीवनको अन्तिम दिनहरूमा जटिल अवस्थाहरूमा फसेको हुन्छ। फलत: जीवन अमिलो हुन्छ र मर्नु न बाँच्नुको दोसाँधमा पुग्छन्। यसले समाजमा अमनचयनको सन्देश दिंदैन बरु यसले जीवनको व्यर्थता वा विद्रोहतर्फ समाजलाई उन्मुख बनाउँछ। युवाहरू आक्रान्त हुन्छन्, फरक संसारको खोजी गर्छन्, विदेशिन्छन् वा अन्य विकल्पहरूको खोजी गर्छन्।
प्रथम विवाहको क्रममा लेखिएको छ, “यसैकारण मानिसले आफ्ना बाबुलाई र आफ्नी आमालाई छोड्नेछ र आफ्नी पत्नीँग टाँसिनेछ, र तिनीहरू एउटै शरीर हुनेछन्” (उत्पत्ति २:२४)। विवाहले एक नयाँ परिवारको सृजना हुने देखाएको छ। नयाँ परिवारलाई अनुकुल हुने गरी नयाँ व्यवस्थापनले व्यवस्थित गर्न सक्दछ। नयाँ विवाह नयाँ परिवार। होला आफ्ना बुबा आमासंगै त्यस नयाँ परिवार रहन चाहन्छन् त्यस अवस्थामा पनि उक्त नयाँ परिवारको नयाँ प्रशासन, उहाँहरू विचको नयाँ व्यवस्थापनमा टिकाटिप्पणी गर्ने वा हस्तक्षेप गर्ने कार्य गर्नुहुँदैन।
अर्को तर्फ बुबा आमाको स्वामित्वलाई छोराछोरीहरूले आदर गर्न सिक्नुपर्दछ। उहाँहरूको अनुमति विना प्रयोग गर्ने वा हडप्ने प्रवृत्ति लिनुहुँदैन। बरू परिश्रम गरी आफू वा आफ्नो परिवारको निम्ति आर्जन गर्ने वा जोहो गर्ने कार्य गर्नुपर्दछ। बुबा आमाको घर वा जायजेथाको पूर्ण उपभोग उहाँहरूले नै गर्ने हो। उहाँहरूको शेषपछि मात्र उहाँहरूको इच्छानुसार त्यसको बाँडफाँड वा व्यवस्थापन गरिनुपर्दछ। उहाँहरूको जायजेथा हात पार्न छोरा छोरीहरूले फकाउने वा उक्साउने कार्य गर्नुहुँदैन। जुन छोरा वा छोरीले जे आम्दानी गरेको छ त्यसको प्रयोग नीजहरूको पूर्ण अधिकारमा हुनेछ। त्यसलाई बुबा-आमाले हस्तक्षेप गर्ने र भविष्यमा दाज्यूभाई विचमा झगडाको वीउ बन्न सक्ने परिस्थितितिर जानदिनुहुँदैन। समाजमा त्यस्ता झगडा र कुण्ठाहरू रहेको अवस्था पनि छ। मेहनत गर्ने बुद्धिमान छोरालाई नै कुण्ठामा राखिएको तर अल्छे छोराहरूलाई बुई चढाएर विगारेका अविभावकहरूको उदाहरणहरू पनि प्रशस्तै छन्। अल्छे छोराहरूको अल्छेपनालाई प्रोत्साहन हुने गतिविधि बुबाआमा वा जोसुकैले गर्न हुँदैन। जुन छोराले कमायो त्यो जायजेथा त्यही छोराको स्वामित्वमा हुन्छ। उसले स्वैच्छिक रुपले बुबा आमा वा दाज्यूभाई दिदी बहिनीहरूलाई बाँडचुँड गर्न सक्छ तर बाध्यकारी हुँदैन। यसरी शुरुदेखि नै व्यवस्थित गर्दै लगियो भने बुबाआमाले आफ्नो सफल व्यवस्थापनको परिणाम पनि उपभोग गर्नेछ। उहाँहरूको आवश्यकता बमोजिम उहाँहरूले चाहे अनुसार कुनै पनि छोरा वा छोरीले उहाँहरूको वृद्धावस्थामा सहायता गर्नुपर्दछ। अथवा उहाँहरूले आफ्नो वृद्धावस्थाको सेवाको निम्ति कुनै सहयोगी वा कर्मचारी राख्न चाहे सो बमोजिम गर्न दिनुपर्दछ। उहाँहरूको आफ्नो नीजी श्रोतमा वा छोरा-छोरीहरूको आर्थिक सहयोगमा त्यस्तो व्यवस्था गर्नु एक उत्तम उपाय हो। यसले वृद्धा-वृद्धालाई खुशी राख्दछ र समाजलाई सुन्दर बनाउँछ। आज देखिने वा सुनिने वृद्ध-वृद्धाहरूको क्रन्दन झैं समाजलाई फेरि पीडा दिनेछैनन् तर हराभरा र फल्दोफुल्दो पार्नेछ। सुनिने भनिने उपरोक्त कथाहरूको ठूलो मात्रामा अन्त हुनेछन्। तब हुन्छ ‘हाम्रो समाजको पहिचान, वृद्ध-वृद्धाहरूको मुस्कान!’
यू. जे. गुरुङ