No comments yet

गाछिसमा सुसमाचार

महनैम मण्डली, पाल्पा जिल्ला बजार तानसेन देखि लगभग ३५km रामपुर जाने बाटो बिरकोट आफरडाँडामा स्थापित स्वतन्त्र बप्तिस्त मण्डली हो। यस मण्डलीले मत्ती २८:१९ अनुसार पहिलो यात्रा बिरकोटको सेरोफेरोमा उत्तरीय भाग गेजा बर्डले पन्ज्याडी सालबास प्रचार सकेर लगत्तै दोस्रो साल दक्षिण भाग पुर्बखोलाको आगनमा रहेको अल्गो डाँडा हात्तिलेक सेरोफेरो गाछिस =गाङ्दी ,छिस,र सामुघा यात्रामा म पनि जान सौभाग्य मिलेको थियो। त्यस बेला मण्डलीको पास्टर हर्ष बुबा, नरबहादुर बाजे, अन्कल धनबहादुर दाजु ईन्द्र र भाइ अमर गरि हामी एका बिहानै केही ट्र्याक्स र काठमण्डु बप्तिस्त मण्डली एबेनेजरले प्रकाशन गरेको मासिक एनोन पत्रिका पनि साथमा लिएर हिड्यौं।

विशेष सुसमाचारीय आशिषमय लेखहरु एनोनभित्र थियो। त्यसमा एबेनेजरले प्रकाशन गरेको धेरै आशिषमय लेखहरुको साथमा मेरो लेख ‘स्वर्ग जाने टिकट येशुमा विस्वास गरी मिल्छ’, र मेरो आदरणिय दिज्यू प्रीतिमाया जि .म.ले लेख्नु भएको आशिषपुर्ण लेख ‘विश्वलाई आवश्यक शान्ति कहाँ पाईन्छ’ पनि थिए। यो आशिषमय एनोन पत्रिका गाछिस यात्रा क्रममा धेरै बाडियो। गाङ्दिमा बिहानको नास्ता गरियो र त्यहाँका ग्रामिण लेकाली लेक साईडमा बस्ने गाउँले दाजुभाईहरुलाई केही ट्र्याक्स र एनोन बाड्ने काम गरियो। त्यो ठाऊँ प्रकृतिको कन्दारा मर्स्याङ्दिको किनारमा अवस्थित भएको र त्यहाँ नयाँ बस्ती, नयाँ मोटर गोरेटो भएकोले होला ईस्वरको सृस्टिको महान सुन्दरताको वणार्त्मक थियो। अझै सम्झन्छु त्यो सुन्दर लेकबेशी किनार। त्यहाँ अन्धकारमय जीवन बिताईरहेका थुप्रै लेकाली सोझासाझा मानिसहरु छन्। उनीहरुले जीवनको ज्योति र मुक्तिदाता ख्रीष्टलाई चिन्ह सके, उनीहरू कति खुशी हुनेथिए र मेरो मन पनि आनन्दले भरिन्थ्यो। अझै आशा छ मलाई त्यो सुन्दर प्रकृतिमा बस्ने सुन्दर मानिसहरुले प्रभुको महान प्रेमलाई बुझ्नेछन् र परमेश्वरको वचनले एक दिन पुरारुपमा काम गर्नेछ। किनकी परमेश्वरको वचन त्यतिकै रित्तै फर्कने छैन, पूरा फसलका साथ फर्कनेछ। परमेश्वरको वचन अविनाशी बीउ हो (मत्ती १३:१-९।)

अनि हामीले गाछिस गाउँका मानिसहरुको बीचमा दुई-चारवटा भजन गाएर सुनायौँ र वचनबाट पनि येशुको बारेमा केहि कुराहरू सुनायौँ। अनि सामुघातिर लाग्यौँ। सामुघामा हामीले केही ट्र्याक्स र एनोन बाँड्ने काम गर्यौँ। सामुघाको शिरानमा आईपुग्दा समयले निक्कै उकालो काट्न थालिसकेको थियो। पास्टर बुबा बास बस्ने जमर्को गर्ने सोचमा हुनुहुन्थ्यो। अनि मैले सोचे होइन बुबा हामी घरै पुग्न सक्छौं। फेरि अर्को यात्रामा यो ठाउँहरुलाई टार्गेट गर्ने निर्णय गर्दै हामी प्रार्थाना गरेर उकालो चढ्यौँ। लगभग पाँच किलोमिटर जति हिँड्ने क्रममा धेरै आशिषमय कुराकानी गरियो जसले हाम्रो थकान र हिडाईलाई बिर्साईदिएको थियो। अनि हामी आफ्नो प्यारो स्विट होममा विश्रामको लागि आईपुग्यौँ। ‘धन्यबाद प्रभु तपाईलाई कति ठूलो प्रेम गर्नुभो तपाईको यो सानो झुण्डलाई’ भन्ने भजन गाएर हामी आ-आफ्नो घरतिर लाग्यौँ। प्रभुको सुसमाचार सुनाउने क्रममा कति बिउ उम्रियो कति उम्रेन फसलका पिता हाम्रो मुक्तिदाता येशु जान्नुहुन्छ। उहाँले हरेकलाई उहाँको चुनाउ बमोजिम उहाँको महिमामा ल्याउनुहुनेछ। उहाँले युगको अन्तमा जम्मा गर्नुहुनेछ (मत्ती १३:३० र १३:३९) हाम्रो जीवित परमेश्वर हाम्रा मुक्तिदाता येशू ख्रीष्टलाई महिमा, प्रभुत्व ,पराक्रम र अधिकार युगानुयुग भईरहोस्। आमेन्! (यहुदा१:२५)

 

तेज थापा

Post a comment